काठमाडौं । इलाम २ का सांसद सुहाङ नेम्वाङले नेपाली चिया निर्यातमा भारतको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । नेपाली चिया क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरे ।
इलामको सूर्योदय नगरपालिका क्षेत्रका ५३ चिया उद्योगले भोलिदेखि कारखाना बन्द गर्ने निर्णयप्रति उनले चिन्ता जनाएका छन् ।
उद्योग बन्दको निर्णयले किसानको सम्पूर्ण जीवनचक्र नै संकटमा पारेको भन्दै सुहाङले आफ्नो वक्तव्यमा लेखेका छन्- ‘इलामका किसानका लागि चिया केवल बाली होइन, यो घरको चुलो बाल्ने, छोराछोरी पढाउने र बिरामी पर्दा उपचार गर्ने आधार हो ।’
भारतको गुणस्तर परीक्षण प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य र समयबद्ध हुनुपर्नेमा उनको जोड छ ।
‘चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खँदैन । आजको ढिलाइले किसानको वर्षभरिको श्रम, उद्योगको लगानी र हजारौँ श्रमिकको रोजगारी जोखिममा परेको छ ।’
नेपाली चिया राष्ट्रिय अर्थतन्त्र र निर्यातसँग जोडिएको विषय उल्लेख गर्दै सांसद नेम्वाङले सरकारसँग ५ बुँदे माग राखेका छन् ।
जसमा प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित दूतावासमार्फत तत्काल रोकिएको चिया निकासी खुलाउन पहल गर्नुपर्ने, भारतीय गोदाममा रोकिएका चिया प्राथमिकतासाथ परीक्षण गरी तत्काल बिक्री अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, नेपालका प्रयोगशालाको प्रमाणपत्रलाई भारतले स्वीकार गर्ने गरी ‘पारस्परिक मान्यता’ कायम गर्नुपर्ने छ ।
प्रभावित उद्योग र किसानका लागि सहुलियतपूर्ण चालु पुँजी, ब्याज राहत र भण्डारण सुविधा सुनिश्चित गर्न, पूर्वी नेपालमा अन्तर्राष्ट्रिय स्तरको चिया परीक्षण प्रयोगशाला स्थापनासँगै चीन, युरोप तथा पाकिस्तान जस्ता वैकल्पिक बजार विस्तार गर्न पनि उनको माग छ ।