काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। केहि बैंकले सामान्य घटाउँदा औसत निक्षेप ब्याजदरमा भने सामान्य गिरावट आएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहँदा वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीमा अधिकांश बैंकहरूले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर घटाएका छन्।
नेपालका २० वाणिज्य बैंकमध्ये अधिकांशले जेठ महिनाकै ब्याजदर कायम राखे पनि बजारमा बढ्दो तरलता र कमजोर कर्जा मागका कारण पाँच बैंकले निक्षेपको ब्याजदरमा कटौती गरेका हुन्। ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।
बैंकिङ स्रोतका अनुसार कर्जा विस्तार अपेक्षाकृत सुस्त रहँदा निक्षेप संकलन बढ्दै गएपछि बैंकहरू ब्याजदर घटाउने रणनीतिमा पुगेका हुन्। यसले निक्षेपकर्ताले पाउने प्रतिफलमा केही असर पार्ने भए पनि कर्जाको लागतमा भने तत्काल ठूलो परिवर्तन नदेखिने विश्लेषण गरिएको छ।
औसत ब्याजदरमा सामान्य गिरावट
नयाँ ब्याजदर संरचनाअनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर जेठको ४.३४ प्रतिशतबाट घटेर असारमा ४.२६ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशत कायम भएको छ।
बैंकहरूले बजारको वर्तमान अवस्था मूल्यांकन गर्दै तत्काल ठूलो ब्याजदर परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक र सानिमा बैंकसहित १४ बैंकले भने ब्याजदर यथावत् राखेका छन्।
समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदरमा सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुसम्म कटौती गरेका छन्। हिमालयन बैंकले ०.२५ प्रतिशतविन्दु, प्राइम कमर्सियल बैंकले ०.१५ प्रतिशतविन्दु तथा एनएमबी, स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकले सानो परिमाणमा ०.०५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।
बैंकिङ प्रणालीमा हाल करिब १३ खर्ब रुपैयाँसम्म लगानीयोग्य (अतिरिक्त) तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले हालसम्म ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ५९ खर्ब १५ अर्ब रुपैयाँमा सीमित छ।
निक्षेप र कर्जाबीचको ठूलो अन्तरले बैंकिङ प्रणालीमा तरलता चाप बढाएको छ। मासिक करिब दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिनु पनि निक्षेप वृद्धि र तरलता बढ्नुको प्रमुख कारणका रूपमा देखिएको छ।
कर्जा माग कमजोर रहँदासम्म निक्षेप ब्याजदरमा थप गिरावट आउने सम्भावना रहन्छ, जसले आगामी महिनाहरूमा बैंकिङ बजारको ब्याजदर संरचना स्थिर वा अझै घट्दो दिशामा रहन सक्ने संकेत गरेको छ।