काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक बाँडेका छन् । खेलको सुरुवातमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो । २१ औँ मिनेटमा ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै आई. साइबारीले मोरक्कोलाई अग्रता दिलाए ।
तर, मोरक्कोको यो अग्रता धेरै समय टिक्न सकेन । खेलको ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले बराबरी गोल फर्काए ।
उनले ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा गोल गर्दै खेललाई १-१ को स्थितिमा ल्याए । पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि निकै प्रयास गरे ।
इन्जुरी समयको अन्तिम मिनेटसम्म पनि दुवै टोलीले जितका लागि निकै संघर्ष गरेका थिए । खेलमा मोरक्कोको रक्षापंक्तिले ब्राजिलियन आक्रमणलाई दोस्रो हाफमा पूर्ण रूपमा विफल तुल्याइदिएको थियो । यो खेलमा ब्राजिलका स्टार खेलाडी नेयमार जुनियर चोटका कारण बेञ्चमा बसेका थिए ।
यसअघि आजै भएको स्वजरल्याण्ड र कतारबीचको खेल पनि १-१ को बराबरीमा रोकिँदै अंक बाँढेका थिए ।