धादिङ । भाद्र १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी तथा यसका सहायक खोलाहरूमा थुप्रिएको बालुवा निकाल्न स्थानीयहरू व्यस्त भएका छन्।
बाढीले खोला तथा नदीको बहाव क्षेत्र परिवर्तन गर्नुका साथै विभिन्न स्थानमा ठूलो परिमाणमा बालुवा, गिट्टी तथा गेग्रान थुपारेपछि स्थानीय बालुवा व्यवसायी तथा मजदुरहरू उत्खननमा जुटेका हुन्।
धादिङको बेल्खु खोला तथा नुवाकोट र धादिङको सिमानामा पर्ने कोल्पु खोलामा अहिले स्थानीयहरू बालुवा निकाल्न व्यस्त देखिन्छन्। बाढीका कारण माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको बालुवा खोलाको किनार तथा विभिन्न स्थानमा थुप्रिएपछि त्यसलाई निकालेर बिक्री गर्ने क्रम बढेको हो।
स्थानीयका अनुसार बाढीपछि खोलामा पहिलेभन्दा फरक स्थानमा बालुवा थुप्रिएको छ। कतिपय ठाउँमा ठूलो मात्रामा बालुवा र गेग्रान जम्मा भएकाले मजदुर तथा व्यवसायीले डोजर, एक्साभेटरलगायत उपकरण प्रयोग गरेर बालुवा संकलन गरिरहेका छन्। निकालिएको बालुवा ट्र्याक्टर तथा टिपरमार्फत नजिकका बजार तथा निर्माणस्थलसम्म पुर्याउने गरिएको छ।
बाढीले सडक, पुल, बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याए पनि खोलामा थुप्रिएको बालुवा स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ। बाढीपछि निर्माण तथा पुनर्निर्माणका काममा बालुवा, गिट्टीलगायत निर्माण सामग्रीको माग बढ्ने भएकाले अहिले संकलन गरिएको बालुवा बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने व्यवसायीहरूको अपेक्षा छ।
तर बाढीपछि नदी तथा खोलाको प्राकृतिक संरचना कमजोर बनेको अवस्थामा जथाभाबी उत्खनन गर्दा थप जोखिम निम्तिन सक्ने स्थानीयको चिन्ता पनि छ। अनियन्त्रित उत्खननले खोला किनार कटान बढाउन, सडक तथा पुलका संरचनामा असर पार्न र आसपासका बस्ती जोखिममा पार्न सक्ने भएकाले सम्बन्धित निकायले मापदण्ड बनाएर मात्र उत्खनन गर्नुपर्ने आवश्यकता देखिएको छ।
बाढीका कारण त्रिशूली नदी आसपासका धेरै क्षेत्रमा सडक कटान र भू–क्षय भएको छ। नदी तथा सहायक खोलामा थुप्रिएको बालुवा र गेग्रान हटाउनु कतिपय स्थानमा आवश्यक भए पनि त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। स्थानीय तहले वातावरणीय प्रभाव, नदीको बहाव, पुल तथा सडकको सुरक्षालगायत विषयलाई ध्यानमा राखेर उत्खननको अनुमति र निगरानी गर्नुपर्ने देखिएको छ ।
भाद्र १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्रिशूली नदीमा आएको बाढीका कारण नदी किनारका सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। बाढीपछि नदी तथा यसका सहायक खोलाहरूमा थुप्रिएको बालुवा र गेग्रान अहिले स्थानीयका लागि एकातर्फ रोजगारी तथा आम्दानीको अवसर बनेको छ भने अर्कोतर्फ व्यवस्थित व्यवस्थापनको चुनौतीसमेत थपिएको छ।