प्रधानमन्त्रीलाई सचिव पुष्करको म्यासेज, राजदूत बन्न सहयोग पाऊँ हजुर’

0 Shares

काठमाडौँ । मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि प्रधानमन्त्री वालेन्द्र शाहको निजी नम्बरमा सिधै म्यासेज पठाएर ‘चेन अफ कमान्ड’ तोडेको आरोप लागेको छ। आगामी असार २१ गते अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले बिहीबार बिहान प्रधानमन्त्री शाहलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एसएमएस पठाएका थिए।

प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, “राजदूतको निम्ति भ्याकेन्सी खुलेको छ, मैले पनि आवेदन दिन लागेको, सहयोग पाउने अपेक्षा छ हजुर ? ”

मुख्य सचिवका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्यालसँगै प्रतिस्पर्धामा रहेका पुष्करले प्रशासकीय मर्यादा विपरीत सिधै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि उनी तत्कालै छानबिनको दायरामा परेका हुन्। बिहीबार बिहान सो म्यासेज बाहिरिए लगतै उनलाई उपराष्ट्रपति कार्यालयबाटै प्रहरी झिकाएर केरकार गरिएको थियो। प्रहरीले उनीसँग बयान लिएर करिब सात घण्टापछि मात्रै मुक्त गरेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह र सचिव पुष्कर एकै जिल्ला महोत्तरीका हुन्। उनीहरूबीच लामो समयदेखि राम्रो र निकट सम्बन्ध रहँदै आएको थियो। शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि उनीहरूबीच बाक्लो कूटनीतिक र व्यावहारिक संवाद हुने गरेको र एकअर्काको घरमा आउजाउसमेत रहेको पारिवारिक स्रोत बताउँछन्।

तर, मुख्य सचिव छनोटको संवेदनशील घडीमा र राजदूत नियुक्तिको दौडधुप चलिरहेका बेला स्थापित प्रशासनिक प्रणालीलाई मिचेर गरिएको यो संवादले कूटनीतिक र शासकीय वृत्तमा नयाँ विवाद उत्पन्न गराएको छ।

सम्बन्धित समाचार