हिमालयन बैंक र युनियनपेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ

0 Shares

काठमाडौं। हिमालयन बैंकले युनियनपेको सहकार्यमा युनियनपे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक स्थानीय ग्राहकका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउन उक्त कार्ड सेवा सुरु गरेको जनाएको छ ।

उक्त कार्डमार्फत ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटिएम, पीओएस, क्यूआर कोड एवं ई–कमर्स प्लेटफर्ममार्फत हुने कारोबार चिनियाँ मुद्रा आरएमबी ९सीएनवाई० मै सहज भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार बजारमा उपलब्ध अन्य माध्यमको तुलनामा यो सेवा बढी सहज, किफायती तथा सर्वस्वीकार्य हुनेछ ।

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी तथा पर्यटकले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट स्वीकृत सीमाभित्रको रकम युनियनपे आरएमबी कार्डमा लोड गरी युनियनपे सञ्जालसँग Alipay+, WeChat Pay र निहाओ चाइना जस्ता क्यूआर तथा अन्य डिजिटल माध्यममार्फत पनि आरएमबीमै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

नक्सालस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियनपे इन्टरनेशनलका उपाध्यक्ष ज्वाङ बेईले संयुक्त रूपमा उक्त सेवा शुभारम्भ गरेका हुन् ।

सम्बन्धित समाचार