‘एलएस होराइजन १२’ बन्दमुखी सामूहिक लगानी योजनामा १ अर्ब ५० करोडको आवेदन

0 Shares

काठमाडौं । ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको आकर्षण उल्लेखनीय देखिएको छ। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको उक्त बन्दमुखी सामूहिक लगानी योजनामा मागभन्दा धेरै आवेदन परेपछि इकाई बिक्री आवेदन निर्धारित समयअघि नै बन्द गरिएको कम्पनीले जनाएको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको योजनाको १२ करोड इकाई बिक्रीका लागि वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन खुला गरिएको थियो। तर, निष्कासन खुलेको छ कार्यदिनभित्रै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेपछि आवेदन प्रक्रिया आजदेखि बन्द गरिएको हो।

योजनाको कुल निष्कासनमध्ये बीज पूँजीस्वरूप १ करोड ८० लाख इकाई लक्ष्मी सनराइज बैंक लिमिटेडका लागि सुरक्षित गरिएको थियो भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको थियो।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा केन्द्रमार्फत संकलन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार छोटो अवधिमै योजनाप्रति देखिएको उत्साहजनक सहभागिताले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको विश्वास थप बलियो बन्दै गएको संकेत गरेको छ। उक्त योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै निर्वाह गरेको हो।

सम्बन्धित समाचार