काठमाडौं। भारत सरकारले चाँदी आयातमा कडाइ गरेको छ। केन्द्र सरकारले शनिबार चाँदीको आयात सीमित गर्ने निर्णय गर्दै यसलाई ‘रिस्ट्रिक्टेड’ श्रेणीमा राखेको हो।
यसअघि चाँदी आयात गर्न सहज व्यवस्था रहेको भएपनि अब विदेशबाट चाँदी ल्याउन सरकारी अनुमति अनिवार्य हुने भएको छ। समाचार संस्था पीटीआईका अनुसार शुद्ध चाँदी मात्र नभइ सुन वा प्लेटिनमको तह चढाइएको चाँदी आयात गर्न पनि सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार अब चाँदी आयातका लागि सरकारी लाइसेन्स लिनुपर्नेछ। यसअघि गत मे १३ मा भारत सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउन तथा ऊर्जा संकट व्यवस्थापनका लागि एक वर्षसम्म सुन नकिन्न, पेट्रोल–डिजेलको खपत घटाउन र विदेश भ्रमण कम गर्न सर्वसाधारणसँग अपिल गरेका थिए।