काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्ममा कामना सेवा विकास बैंककाे नाफा १९.३७ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाकाे अवधिमा ५८ करोड ८६ लाख ९८ हजार रूपैयाँ नाफा कमाएकाे हाे ।
गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३२ पैसा बढेर २० रुपैयाँ ०५ पैसा पुगेको छ ।
यस्तै चालु वर्षको पहिलो ९ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि ९.२६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ थियो ।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ७६ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले १४.१५ प्रतिशत लाभांश क्षमता बनाएको छ ।
समीक्षा अवधिसम्म बैंककाे सञ्चालन मुनाफा पनि १८.३४ प्रतिशतले बढेर ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७१ करोड ६१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
चैत मसान्त सम्मकाे अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज गत वर्षको ३१ करोड ७१ लाख रुपैयाँबाट घटेर २८ करोड ६२ लाख रुपैयाँमा झरेको छ।
हाल बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने २ अर्ब ३ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। बैंकसँग ४.४० प्रतिशत खराब कर्जा छ ।
यस्तै बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।