काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको भए पनि वीर अस्पतालले आइतबार सबै सेवा सुचारु राख्ने भएको छ।
शुक्रबार अस्पताल प्रशासनले सूचना जारी गरी आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सबै सेवा सञ्चालन उपलब्ध हुने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले सबै सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारले शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको थियो। त्यसका आधारमा यसअघि वीर अस्पतालले पनि आइतबार आकस्मिकबाहेक सेवा बन्द रहने जनाएको थियो।
त्यसले बिरामीलाई समस्या हुने भएपछि स्वास्थ्य मन्त्रालयले आइतबार पनि सबै सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो। त्यसका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले वीर अस्पताल, ट्रमा सेन्टर र वीर अस्पताल नर्सिङ क्याम्पसका सबै सेवा आइतबार पनि यथावत राख्ने निर्णय गरेको हो।