काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टल्क्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक २०२६’ अन्र्तगत विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गत सोमबारदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
बैंकले देशभर सबै प्रदेशका दुई सयभन्दा बढी शाखाहरुमार्फत विभिन्न स्थानमा साताव्यापी कार्यक्रम गरी सफल बनाएको हो । यस क्रममा वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकले ‘स्मार्ट मनी टल्क्स’ भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशील विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन सूचना सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अगाडि बढाएको छ ।
कार्यक्रम संचालन भएका प्रदेश तथा शाखा
बागमती प्रदेश ४७ शाखा, गण्डकी प्रदेश ५२ शाखा, लुम्बिनी प्रदेश १६ शाखा, कोशी प्रदेश ३९ शाखा, मधेस प्रदेश २९ शाखा, कर्णली प्रदेश १४ शाखा र सुदूरपश्चिमका १९ शाखाबाट कार्यक्रम संचालन गरिएको थियो ।
बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।