काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषय गम्भीर बनेको छ ।
विश्वविद्यालयका सफाइ कर्मचारीहरूले केही प्रति किताब जलाएको भिडिओ सामाजिक सञ्जालमा आएपछि नेपालस्थित चिनियाँ दूतावासले चासोका साथ परराष्ट्र मन्त्रालयमा पत्र पठाउँदै संलग्नलाई कारबाहीका लागि ध्यानाकर्षण जनाएको छ ।
शनिबार राति विश्वविद्यालयमा सफाइ गर्ने क्रममा केही थान पुस्तक जलेको विश्वविद्यालयले जनाएको छ । कोशी प्रदेश सरकारको स्वामित्वमा रहेको यस विश्व विद्यालयमा केही वर्षअघि सी जिनपिङको पुस्तक ल्याइएको थियो । मनमोहन विश्व विद्यालय बन्नुअघि यहाँ पोलिटेक्निक सञ्चालनमा थियो ।
मनमोहन स्मृति प्रतिष्ठानले स्थानीय संघ संस्था, क्लबमा वितरण गर्न ती किताब पठाएको विश्व विद्यालयका उपकुलपति सुभाषश्री पोखरेलले बताए । पठाइएकामध्ये धेरैजसो किताब वितरण भएको केही अझै स्टोरमा रहेको उनले सुनाए । स्टोरमा रहेका केही किताब धमिरा लागेको, केही पानीले भिजेका कारण सफाइ कर्मचारीले बिग्रिएका किताब सफाइका क्रममा जलाएको उनको दाबी छ ।
स्टोर रहेको कोठामा विद्यार्थीहरूका लागि ल्याब निर्माणका लागि सफाइ गरिएको उनको भनाइ छ ।