काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।
निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो ।
सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ ।
यसैगरी, कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार/चार उम्मेदवारको सूची क्लष्टर मिलाएर आज पेस गरेको थियो ।
क्लष्टरअनुसार सूची मिले नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
दलहरुले क्लष्टरअनुसार बुझाएको निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभए सोमबार नै निर्वाचितको सूची सार्वजनिक गरिने प्रवक्ता जिसीले बताए ।
दलहरुले क्लष्टरअनुसार बुझाएको सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा तीन दिनसम्म समय लाग्न सक्ने छ ।