काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले ३८ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि माघ मसान्तसम्म बैंकहरूले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकहरूको कुल नाफा ३६ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।
नाफा कमाउनेमा नबिल अगाडि
चालु आर्थिक वर्षको माघ मसान्तसम्म नबिल बैंक ५ अर्ब ३८ करोड रुपैयाँ नाफासहित पहिलो स्थानमा रहेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड र कुमारी बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यता, नाफाको अंकका आधारमा लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा कम (२४ करोड २७ लाख) देखिएको छ । यस्तै एनआइसी एशियाको ४४ करोड ३० लाख र सिटिजन्स बैंकको नाफा ५७ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

कुमारी र सिद्धार्थ बैंकको ‘छलाङ’
प्रतिशतका आधारमा तुलना गर्दा कुमारी बैंकको नाफामा अकल्पनीय सुधार देखिएको छ । अघिल्लो माघको तुलनामा कुमारीको नाफा ३२९.८६ प्रतिशतले बढेको हो । त्यसैगरी, सिद्धार्थ बैंकको नाफा ९९.५७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको नाफा ५२.४६ प्रतिशतले बढेको छ ।
१० बैंकको नाफामा गिरावट
नाफा बढेका बैंकहरूको बीचमा १० वटा बैंकको नाफामा भने गिरावट देखिएको छ । लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा धेरै ८४.७३ प्रतिशतले घटेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३६.१८ प्रतिशत, सिटिजन्स बैंकको ३६.०९ प्रतिशत र प्रभु बैंकको नाफा २५.६६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।