काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबियाले नेरदल्यान्ड्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला फिल्डिङ गरेको नेरदल्यान्ड्सले नामिबियालाई १२३ रनमा अलआउट गरेको हो । खेलमा नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । यस क्रममा उनले दुई छक्का र एक चौका प्रहार गरे ।
रुबेन ट्रम्पलम्यानले एक छक्काको मद्दतले ३९ बलमा २० रन बनाए । विकेटकिपर जेन ग्रिनले १९ रन बनाए । निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३-१३ रन बनाए ।
नेदरल्यान्ड्सका आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबया ३५.१ ओभरमा अलआउट हुन पुगेको हो । दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए । कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १-१ विकेट लिए ।
त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । आजको खेलमा नामिबिया पराजित भए नेपाललाई फाइदा हुनेछ ।