काठमाडौं । आईसीसी यू १९ विश्वकपको फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलिया विजयी भएको छ । दक्षिण अफ्रिकामा जारी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले उचालेको हो ।
फाइनलमा भारत अष्ट्रेलियासँग ७९ रनले पराजित भएको हो । योसँगै अष्ट्रेलियाले चौथो पटक यू १९ विश्वकप क्रिकेटको उपाधि जितेको हो ।
अष्ट्रेलियाले दिएको २५५ रनको लक्ष्य पछ्याएको भारत ४३ ओभर ५ बलमा १७४ रनमा समेटियो । भारतका लागि आदर्श सिंहले सर्वाधिक ४७ रन बनाए ।
मुरुगन पेरुमल अभिषेक ४२ र मुशिर खानले २२ रन बनाएर आउट भए । बलिङमा अष्ट्रेलियाका महली बर्डम्यान र राफेल म्याकमिलनले ३–३ विकेट लिए ।
फाइनलमा अस्ट्रेलियाले भारतसामु २५४ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदैमा २५३ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि हर्जस सिंहले ५५, कप्तान ह्युज वेइबगेनले ४८ रन, ओपनर ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रन बनाएका थिए ।
बलिङमा भारतका राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिएका थिए ।
यसअघि एक दिवशीय विश्वकपमा भारत अष्ट्रेलियासँग स्तब्ध भएको थियो । गत मंसिरमा भारतमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भएको थियो ।
फाइनलमा घरेलु टोलीलाई ६ विकेटले स्तब्ध पार्दै अष्ट्रेलियाले एक दिवसीय विश्वकपको लिएको गएको हो ।