कामना सेवा विकास बैंकको नाफामा २२% को उछाल, प्रतिसेयर आम्दानी कति ?

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा आकर्षक वित्तीय प्रगति गरेको छ । साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको कामना सेवाले नाफा, आम्दानी र व्यवसाय विस्तारमा उत्साहजनक वृद्धि देखाएको हो ।

नाफा र आम्दानीमा बढोत्तरी

सार्वजनिक विवरणअनुसार बैंकले चालु आवको पहिलो ६ महिनामा ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि २१ प्रतिशतले बढेर ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको मुख्य आम्दानीको स्रोत ‘खुद ब्याज आम्दानी’ ११ प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ । यसले बैंकको मुख्य व्यवसायिक गतिविधि बलियो रहेको देखाउँछ । गत आवको सोही अवधिममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९ करोड थियो ।

साथै चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी १४ करोड ५३ लाखबाट बढेर १५ करोड ८६ लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब २९ करोडबाट बढेर १ अर्ब ४३ करोड पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब ८६ करोड भएको बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । यस्तै बैंकको रेटेर्न अर्निङ्गमा २९ करोड ५७ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ । बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ०७ पैसा रहेको छ। बैंकको प्रति शेयर आम्दानी २०.४३ रुपैयाँ रहेको छ ।

निक्षेप र कर्जाको अवस्था

बैंकले पुस मसान्तसम्म ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.७७ प्रतिशत रहेको छ ।

हालको विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा र लाभांश क्षमतामा समेत सुधार देखिएको छ । अपरिष्कृत वित्तीय विवतरण अनुसार बैंकको पुँजीकोष अनुपात थोरै खुम्चँदै १२.५७ प्रतिशतमा रहेको छ, जुन सहज अवस्थामा नै देखिन्छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपातलाई घटाएको छ । गत आवको दोस्रो त्रैमास (२०८१ पुस) सम्म कुल कर्जामा खराब कर्जाको अनुपात ४.३५ प्रतिशत रहेकोमा २०८२ पुससम्म आइपिुग्दा ४.१० प्रतिशमा सुधारिएको हो ।यस अवधिमा बैंकले सम्भवित जोखिमको लागि इम्पेयर चार्ज अन्तर्गत १८ करोड ७१ लाख छुट्याएको छ । गत आवको सोही अवधिमा यस्तो रकम १९ करोड ६४ लाख रुपैयाँ थियो

बैंकिङ्ग प्रणालीमा ब्याजदर घट्दै जाँदा बैंकको निक्षेप संकलन लागत पनि घटेको छ । गत आवको पुससम्म प्रति एक सय रुपैयाँको लागत ५.६५ रहेकोमा हाल ४.२५ रुपैयाँमा नै बैंकले निक्षेप पाएको छ । उता बैंकको आधार दर घट्दा ऋणीहरुले पनि सस्तो ब्याजदरमा नै कर्जा पएका छन् । बैंकको आधारदर १.५५ प्रतिशत बिन्दुले घटेर ६.१७ मा कायम भएको छ ।

सम्बन्धित समाचार