आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

0 Shares

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा २०८२ साल पुस २४ गते बिहीबार काठमाडौँको भाटभटेनीस्थित अम्रपाली बैङ्क्वेटमा सम्पन्न भएको छ ।

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्ति, सम्पत्ति, व्यवसाय र दायित्वको संरक्षण गर्दै आर्थिक जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । बीमा बजारको विकास, पहुँच र विश्वसनीयता कुनै पनि देशको अर्थतन्त्रको सूचक हुने उल्लेख गर्दै कम्पनीले बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउँदै बीमितको हकहित संरक्षणमा निरन्तर काम गरिरहेको जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार पानीपोखरीस्थित कम्पनीको आफ्नै २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित ११ तल्ले भवन निर्माण सम्पन्न भइसकेको छ। कम्पनीको प्रधान कार्यालय २०८२ माघभित्र नारायणचौरबाट पानीपोखरीस्थित नयाँ भवनमा सर्ने तयारी छ । आवश्यक चार तल्ला कम्पनीले प्रयोग गर्ने र बाँकी तल्ला भाडामा लगाइनेछ ।

सभामा जानकारी दिइएअनुसार चालु आर्थिक वर्षको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका कारण निर्जीवन बीमा क्षेत्रमा करिब २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको दाबी परेको छ । यस्तै, असोज १८ गतेदेखि भएको अविरल वर्षा, बाढी र पहिरोबाट करिब ४ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । यद्यपि, आर्थिक सूचकमा देखिएको सुधार र सेयर बजारको सकारात्मक संकेतले आगामी दिनमा आर्थिक गतिविधि सुदृढ हुने अपेक्षा व्यक्त गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले देशका सातै प्रदेशमा रहेका ९० शाखामार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरबाट सेवा प्रदान भइरहेको जानकारी दिए । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ, जसका आधारमा आइजीआई प्रुडेन्सियल निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो ।

आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा क्षेत्रको कुल बीमा प्रिमियम ४१ अर्ब १७ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा ६.७७ प्रतिशतले बढेर ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले पनि आफ्नो बीमा प्रिमियम ६.३२ प्रतिशतले बढाएर ३ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ ।

समीक्षा वर्षमा कम्पनीले १८ हजार ५ सय दाबीका लागि २ अर्ब ४६ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । साथै, विभिन्न कर शीर्षकमा ७९ करोड ८७ लाख रुपैयाँ नेपाल सरकारलाई बुझाएको छ ।

कम्पनीले नयाँ स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत नेपालका अधिकांश अस्पतालबाट नगद रहित सेवा उपलब्ध हुने व्यवस्था छ । भारतमा पनि सो सुविधा प्राप्त हुने जानकारी दिइएको छ । साथै, विदेशी पर्यटकका लागि ट्रेकिङ तथा पर्वतारोहणसम्बन्धी विशेष बीमा योजना पनि सुरु गरिएको छ ।

सम्बन्धित समाचार