काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रियालाई टुंगो लगाउन एकता समायोजन समिति गठन गरेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा शनिबार एकता समायोजन समिति गठन गरिएको एक नेताले जानकारी दिए। सात सदस्यीय समितिमा बालेनको समूहबाट दुई, उज्यालो नेपालबाट दुई र रास्वपाबाट दुई सदस्य रहने सहमति भएको उनले बताए।
यसअघि पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्ट रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमतिमा हस्ताक्षर भएको थियो।
बालेन समूह र उज्यालो पार्टीबीच सहमति भए पनि समायोजन हुन बाँकी छ। महामन्त्री बुर्लाकोटीको नेतृत्वमा बनेको समितिले समायोजन प्रक्रिया टुंगो लगाउनेछ।
आज बस्ने रास्वपा केन्द्रीय समितिको बैठकले एकता समायोजन समितिलाई अनुमोदन गर्ने जनाइएको छ।