काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबिच वार्ता सुरु भएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा दुई पक्षबिच वार्ता सुरु भएको हो ।
उज्यालोका नेताहरू यसलाई पार्टी एकताको अन्तिम वार्ता भनेका छन् । केही बेरअघि सुरु भएको वार्तामा उज्यालो नेपालका तर्फबाट प्रा।डा। महेन्द्र लावती, पार्टीका प्रवक्ता राजु थापा, केन्द्रीय सदस्यद्वय जितराम लामा र रामेश्वर श्रेष्ठ रहेका छन् । त्यस्तै, रास्वपाबाट भने शिशिर खनालसहितको टोली सहभागी रहेका छ ।
आजको छलफलमा उज्यालो नेपालले पठाएका १४ जना समानुपातिक उम्मेदवार निर्वाचित हुने सुनिश्चितताको विषय, पार्टीमा उज्यालो नेपालबाट आएका व्यक्तिको प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र पहिचानको सम्बन्धमा रास्वपाको धारणा लगायत विषयमा छलफल हुने उज्यालोका एक नेताले बताए ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा उज्यालोका तर्फबाट १४ जना रहेका छन् । त्यसमध्ये रीमा विश्वकर्मा बाहेक सबैको नाम क्लस्टरको पछिल्लो सूचीमा छ । वार्तामा उनीहरूलाई सूचीको माथिल्लो नम्बरमा ल्याउनुपर्ने असन्तुष्ट पक्षधरको माग छ ।