एनएमबि बैंक र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0 Shares

काठमाडौं । एनएमबि बैंक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको पुस ८ गते मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ । आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर खरिद–बिक्री भई कायम रहेका शेयरधनीले यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभा तथा लाभांश वितरणका लागि दुवै कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। बुक क्लोजको आधारमा आजसम्म शेयरधनी रहेका लगानीकर्ताले मात्र कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र लाभांशको हकदार बन्न पाउनेछन् ।

एनएमबि बैंक लिमिटेडले पुस २४ गते, बिहीबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् ।

त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २५ गते, शुक्रबार, कार्की ब्यान्क्वेट, बबरमहल, काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११:१५ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका अन्य प्रस्तावहरू पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछन् ।

सम्बन्धित समाचार