कुलमानको प्रश्न– कन्काइमा पुल छैन, झापामा भ्युटावर किन ?

0 Shares

काठमाडौं । भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङले राज्यको प्राथमिकता आवश्यकताका आधारमा विकास निर्माण भन्दा पनि आफ्ना मान्छे लक्षित देखिएको बताएका छन्।

झापामा कन्काई नदीमाथि पुल बनाउनुका सट्टा भ्यु टावर बनाएको भन्दै उनले जनताका आवश्यकता अनुसार राज्यले लगानी गर्नुका सट्टा आफ्ना मान्छेलाई ठेक्का दिने गरी बजेट विनियोजन भएको बताएका हुन्।

‘झापाको कन्काई पुलले २ वटा गाउँपालिका जोड्ने रहेछ। त्यो नबन्दा जनताले धेरै दुस्ख पाएका रहेछन्,’ उनले भने, ‘पुल बनाउने ठेक्का १५ वर्षदेखि लागेको छ। काम भएको पनि छैन। तोडिएको पनि छैन। अनि झापाको भ्यु टावर किन चाहियो।’

कन्काई नदीमा एउटा पुल नबन्दा ५ मिनेटको बाटो यात्रा गर्न ८० किलोमिटर हिड्नुपर्ने अवस्था देखिएको पनि उनले बताए। पुल बनाउन नसक्ने तर भ्यु टावरमा लगानी गर्ने प्रवृत्ति गाउँपालिकामा पनि देखिएको उनले बताए।

रौतहट र सर्लाही जोड्ने बागमती नदीमाथि बनाउने भनिएको पुल पनि झण्डै १५ वर्षदेखि रोकिएको उनले बताए। पुल, सिँचाइका आयोजना बनाउनुका सट्टा भ्यु टावरमा प्राथमिकता दिने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए।

‘आफ्ना मान्छेलाई काम दिन बजेट जति काटेर पठाएका छन्,’ उनले भने, ‘ठेक्का लिएर बस्ने तर काम पनि नगर्ने प्रवृत्ति देखियो।’

सिँचाइमा लगानी नहुँदा किसान रोएर बस्नुपर्ने अवस्था देखिएको पनि उनले बताए। जनतालाई आवश्यक ठाउँमा राज्यले लगानी गर्नु नै डेलिभरी दिनु भएको भन्दै उनले अनावश्यक ठाउँमा हुने खर्च रोक्न आफू लागिपरेको बताए।

अर्का प्रसंगमा मन्त्री घिसिङले पोखरा, चितवन र लुम्बिनी जोड्ने गरी सडक, बिजुली र पर्यटनको त्रिकोण बनाउने गरी आफू अघि बढेको बताए। गण्डकी प्रदेश जलविद्युत आयोजना र पर्यटनको हब भएको भन्दै पूर्वाधार विकासमा जोड दिएको उनको भनाई छ।

उज्यालो नेपाल पार्टी गण्डकीका संयोजक कुशल गुरुङको अध्यक्षतामा भएको प्रदेश स्तरीय भेलामा केन्द्रिय सदस्यद्वय रिमा विश्वकर्मा र सुमी मोक्तान लामाले पनि संवोधन गरेकी थिइन्।

सम्बन्धित समाचार