धादिङ । नेपाली कांग्रेस धादिङ-२ क्षेत्रीय कार्य समितिको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेताहरूसहित १२ जनाले आकांक्षा देखाएका छन् ।
उम्मेदवारको आकांक्षामा जेनजी पुस्ताबाट अश्विन दुवाडीले प्रत्यक्षतर्फ उम्मेदवारी आवेदन पेश गरेका छन् ।
बैठकका अनुसार क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ४ जनाले आवेदन दर्ता गराएका हुन् । आश्विन जस्ता युवाको सहभागिताले संगठनमा नयाँ पुस्ताको उपस्थिति बलियो बन्दै गएको नेताहरूले टिप्पणी गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार एक क्षेत्रबाट प्रत्यक्षतर्फ एक महिलासहित तीन जना र समानुपातिकतर्फ एक महिलासहित दुई जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
सोही परिपत्रअनुसार उम्मेदवार टुंग्याउने गृहकार्यका लागि धादिङ-२ को बैठक मंसिर २६ गतेसम्म स्थगित गरिएको स्रोतले जनाएको छ ।
यस्तै, धादिङ-१ मा हिजो बसेको बैठकमा समानुपातिकतर्फ परिपत्र मिलेको भए पनि प्रत्यक्षतर्फ ११ जनाको आकांक्षा देखिएका छन् । यसले दुवै क्षेत्रमा पार्टीभित्र प्रतिस्पर्धा चर्को रहेको संकेत गरेको छ ।
को हुन् अश्विन?
धादिङको ज्वालामुखी गाउँपालिका-४ ढोला निवासी अश्विन त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागमा इन्जिनियरिङ जियोलोजी विषयमा स्नातकोत्तर अध्ययन सम्पन्न गरेका छन् ।
उनी इन्जिनियरिङ जियोलोजीमा अध्ययन गर्दै गर्दा गत मंसिरमा विश्वविद्यालयबाट शैक्षिक उत्कृष्टताको आधारमा छनोट भई उनी साइमन विश्वविद्यालय जापानमा आयोजित साकुरा साइन्स एक्सचेञ्ज प्रोग्राममा त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै जापान जाने अवसर पाएका थिए ।

उनको राजनीतिक जीवन बराह कालिका माध्यमिक विद्यालयबाट नेविसंघको सदस्य भई सुरु गरेका थिए । २०७५ सालमा नेविसंघ जिल्ला अधिवेशनमा जिल्ला सदस्य उमेदवारी दिएका थिए ।
तर, अधिवेशन विविध कारणबस हुन सकेन । उनी नेपाली कांग्रेसको गत अधिवेशनमा क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भएका थिए ।
उनी नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको सचिव पनि हुन् । गत स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट स्ववियु सचिव पदका प्रत्यासी पनि थिए ।
विद्यार्थी राजनीतिमा बौद्धिक छविको रुपमा चिनिने उनी साहित्यका विभिन्न क्षेत्रमा लेखनमा सक्रिय छन् । उनले १४ वर्षकै उमेरमा ‘आरम्भ’ नामक साहित्यिक कृति प्रकाशन गरेका छन् । यस्तै, विभिन्न साहित्यिक पुरस्कार जितिसकेका छन् ।
त्रिचन्द्र क्याम्पसबाट स्नातक अध्ययन गर्दै गर्दा उनी एम्नेष्टी इन्टरनेशनल नेपालको त्रिचन्द्र युथ नेटवर्कका संयोजक बने । पछि एम्नेष्टी इन्टरनेशनल नेपाल राष्ट्रिय बोर्डअन्तर्गत युथ पावर एक्सन कमिटीका सदस्य भएका थिए ।
सामाजिक तथा नेतृत्व भूमिकामा सक्रिय उनी सन् २०१८ मा लियो क्लब अफ काठमाडौं लालिगुँरासका सहसचिव, सन् २०२४ मा बालकोट जेसिसका महासचिव र हाल २०२५ का लागि बालकोट जेसिसका कार्यकारिणी उपाध्यक्ष छन् ।
सामाजिक सेवाका लागि स्थापना गरिएको ढोला-काठमाडौं सेवा समाजका सचिवसमेत रहेका उनी साहित्यिक रुपमा नेपाली लेखक संघ काठमाडौंका सदस्य छन् ।