विप्लव, जनार्दन र घनश्याम रक्षात्मक बन्दै

0 Shares

काठमाडौं । समाजवादी मोर्चामा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, जनता समाजवादी, नेकपा विप्लव समूह सबै पार्टी सहकार्य गर्दै एकतामा जाने योजना बनाएका थिए । नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्व नेकपासहित जनार्दन शर्मा नेकपा माओवादी केन्द्रमा उपमहासचिव र घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा महासचिव पदमा आबद्ध थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पुराना पार्टी र नेतृत्वहरूमाथि प्रहार सुरु भएपछि नेतृत्व छोड्नुपर्ने दबाब बढ्यो । पार्टीकै युवा नेताहरूले आफ्नै नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई पुस्तान्तरण गर्नुपर्ने बहस गर्न थालेपछि तीन नेताले नेतृत्व सुम्पिन आवाज उठाउन थाले । तर, प्रचण्ड माधव एकता गरे पनि तत्काल नेतृत्व हस्तान्तरण गर्न तयार नभएपछि तीन नेता मिलेर एउटै पार्टी बनाउन बहस गर्न थाले । एउटै पार्टी बनाउन तीन जनाले काठमाडौंदेखि बुटवलसम्म छलफल र बहसलाई जारी राखे ।

अन्तमा प्रचण्ड-माधव तत्काल नेतृत्व छोड्न तयार नभएपछि जनार्दनले बाबुराम भट्टराईसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे भने घनश्याम भुसालले नेकपा संयुक्तसँग एकता गरेर नेकपा संयुक्त पार्टी गठन गरे । विप्लवले कानुनी रूपमा नेकपा माओवादी पार्टी नाम राखे पनि नेता कार्यकर्ताले भने नेकपा भनेरै प्रयोग गर्ने गरेका छन् ।

प्रचण्ड-माधवलाई नेतृत्व छाड्न दबाब दिने तीन नेता मिलेर एउटै पार्टी बनाउन सकेनन् । तीन नेता आआफ्नो पार्टीमा हुँदा एक भएर बलियो शक्ति हुने सपना चकनाचुर भएको छ । तीन नेता तीनतिर फर्किएपछि केही गर्छन् भन्ने आशा गरेका जनतामा समेत तुसारापात भएको छ । पछिल्लो समय तीन नेताले तत्काल एकता गर्न नसकिने बताउन थालेका छन् ।

विप्लव प्रचण्डले माओवाद छोडेपछि त्यसको सद्भाव सबै लिएर बलियो हुन सकिन्छ कि भन्ने आशमा पार्टीको नामै फेरे । क्रान्तिकारी कम्युनिस्ट झल्किने चुनाव चिन्ह छोडेर प्रेमको प्रतीक गुलाब चिन्ह लिएर विप्लव चुनावी प्रचारमा लागेका छन् । जति रुपान्तण र जेनजीका कुरा उठाए पनि जनतामा उभार ल्याउन सकेका छैनन् ।

बरु पछिल्लो समय प्रचण्ड माधवसँग एकता गर्न सकारात्मक रहेको प्रतिक्रिया दिन थालेका छन् । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा एक सिट पनि सुरक्षित नदेखेपछि विप्लवले सहकार्यको एजेण्डा अघि सारेका छन् । उता एमालेसँग चुनाव तालमेल गरेर बलियो हुने सपना देखेका विप्लव एमाले आन्तरिक समस्यामा रुमलिदा उनलाई सङ्कट परेको छ । विप्लवले चुनाव जित्ने गरी चुनावी माहाले ल्याउन नसक्दा पछिल्लो समय रक्षात्मक बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले जेनजीलाई नेतृत्वमा ल्याएर नेतृत्वमा नबसेर सुदन किराँतीलाई राखे । पार्टीलाई कम्युनिस्ट कित्ताबाट अलग गरेर गैर कम्युनिस्ट पार्टी बनाएपछि पूर्व माओवादी नेता कार्यकर्ताले आक्रमण गरेपछि आफ्नै गृह जिल्ला रुकुम प्रवेश गर्दा कालो झन्डाको सामना गर्नुपर्‍यो । त्यसैमा यसअघि कम्युनिस्ट विचार छोडेका बाबुराम भट्टराईसँग एकता गरेर चुनाव चिन्ह आँखा लिएर मैदानमा उत्रिदा अझै माहोल बनाउन सकेका छैनन् ।

आफ्नै गृह जिल्लामा पुराना नेता कार्यकर्ताले साथ नदिँदा यसअघि निकट भई काम गरेकी लक्ष्मी पुनले समेत प्रलोपाले कांग्रेस-एमाले कार्यकर्ता राखेर भेला गरेको उल्लेख गरिन । जनार्दनलाई पूर्व माओवादीका अधिकांश कार्यकर्ताले साथ नदिएपछि कांग्रेस-एमाले कार्यकर्ताले साथ दिएर भेला गरेको पुनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरिन् ।

जनार्दनले रुकुमबाहेक अरू जिल्लामा चुनावी माहोल ल्याउने गरी कुनै कार्यक्रम गर्न सकेका छैनन् । माओवादीबाट अलग भएपछि जनार्दनलाई रुकुमबाटै चुक्ता गर्ने नेकपा नेता गोपाल शर्माले चुनौती दिएका छन् । प्रलोपाले सांगठनिक रूपमा माहोला ल्याउन नसक्दा रक्षात्मक अवस्थामा पुगेको बताएको छ ।

नेकपा संयुक्तका नेता चन्द्रदेव जोशीलाई घनश्यामले एकता गरेर बलियो हुने प्रयास गरे । पार्टीको नामसमेत फेरेर चुनावी माहोल ल्याउन खोजे पनि सबैभन्दा बढी रक्षात्मक घनश्याम पुगेका छन् । उनले चुनावी माहोल ल्याउने गरी कुनै सार्वजनिक कार्यक्रमसमेत गर्न नसक्दा सबैभन्दा बढी रक्षात्मक छन् ।

विप्लव, जनार्दन र घनश्यामले पार्टी नेतृत्वबाटै बिदा हुनुपर्छ भन्दै अडान लिएका प्रचण्ड-माधवले सातै प्रदेशका सन्देश सभाको आयोजना गरेर चुनावी उभार ल्याएका छन् । उपत्यका बाहिर एमाले र कांग्रेस जस्ता पार्टीले आमसभा कार्यक्रमसमेत आयोजना गर्न सकेका छैनन् । तर, प्रचण्ड-माधवले प्रदेश स्तरमा गरेको सन्देश सभामा उल्लेख्य जनता उतारेर पहिलेकै शक्तिलाई कायम राख्ने प्रयासमा जोडतोडका साथ सक्रिय भई लागेका छन् ।

सम्बन्धित समाचार