अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द हुने, यस्तो छ कार्य तालिका

0 Shares

काभ्रे । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी साधन आवागमन बन्द गरिने जनाएको हो ।

उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनका अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो । समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्नेसमेत जनाएको छ ।

तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । सवारी साधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ ।

गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किमी सडक कालोपत्रको काम गरिएको थियो ।

सम्बन्धित समाचार