काठमाडौं। भदौ २३ र २४ गतेको घटनापछि चार पूर्व प्रधानमन्त्रीहरुले पहिलोपल्ट मञ्च शेयर गर्न लागेका छन् । मदन भण्डारी फाउण्डेशनले पर्सि (आइतबार) राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’मा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल सँगै देखिन लागेका हुन् ।
०५० जेठ ३ को दासढुङ्गा दुर्घटनामा बितेका जीवराज आश्रितसङ्गै बितेका तत्कालीन एमाले महासचिव मदन भण्डारीको पर्सि असार १४ गते ७५ औं जन्मजयन्ती हो ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त कार्यक्रममा उनीहरु अतिथि वक्ताको रुपमा उपस्थित हुने बताइएको छ । तत्कालीन नेकपाका शीर्ष नेताहरु पहिलो पटक एक ठाउँमा उभिएर सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव पनि वक्ताको रुपमा उपस्थित हुने कार्यक्रम छ ।