अस्थिरतामा मधेसः होटलमा सपथ लिएर मुख्यमन्त्री बनेका यादवलाई पद बन्यो भारी

0 Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । बुधबार दिउँसो २ बजे प्रदेश सभामार्फत विश्वासको मत लिने भनिए पनि राजीनामा दिने तयारी भइरहेको एक नेताले जानकारी दिए ।

यसअघि सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार उनले आज प्रदेशसभा बैठक आह्वान गरेका थिए । तर, उक्त बैठकमा सत्ता पक्षकै सांसद अनुपस्थित हुने तयारी भइरहेको थियो ।

एमाले मधेस प्रदेशका एक सांसदले आफूहरूले मुख्यमन्त्री यादवलाई राजीनामा दिन सुझाव दिएको जानकारी दिए । पार्टीभित्रबाट विश्वासको मतभन्दा राजीनामा नै दिन सुझाव आएसँगै मुख्यमन्त्रीले सोहीअनुसार तयारी गरेका हुन् ।

मुख्यमन्त्री यादव गत कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन साँझ उनलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संसदीय मर्यादाविपरीत एक होटलमा सपथ ग्रहण गराएकी थिइन् ।

मधेस प्रदेश एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटलमा सपथ गराएकी भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ ।

त्यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाका थिए । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा एमाले संसदीय दलका नेता यादव संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी गैरसंवैधानिकत तरिकाले नियुक्त भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो ।

संघीयताको वकालतमा बलियो, कार्यान्वयनमा फितलो

देशमा संघीयतासहित नयाँ राजनीतिक नक्साको माग गर्दै मधेस प्रदेशले बलियो मत राख्दै आएको छ । ‘एक मधेस, एक प्रदेश’ भन्दै संघीयताको माग गरेको यस प्रदेशमा जम्मा ८ जिल्ला रहेका छन् । तर, पछिल्लो समय संघीयताको कार्यान्वयनमा यो प्रदेशले फितलो शैली अपनाएको छ ।

संघीय निर्वाचन भएको दुई कार्यकाल अर्थात आठ वर्षमा मधेस प्रदेशमा पाँच जना मुख्यमन्त्री बनेका छन् । पहिलो कार्यकाल जनता समाजवादी पार्टी (जसपा)का सांसद लालबाबु राउत पूरा कार्यकाल मुख्यमन्त्री बने । उनी उनी चार वर्ष ३३३ दिन पदमा बसेका थिए ।

दोस्रो संघीय निर्वाचनपछिको दुई वर्षमा चार जना मुख्यमन्त्री बनेका छन् । जसमा जसपाका सरोजकुमार यादव प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए । उनी एक वर्ष १४६ दिन मुख्यमन्त्रीको पदमा बसे । उनीपछि सतिशकुमार सिंह एक वर्ष १७१ दिन पदमा बसे ।

सिंहपछि प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका थिए । उनले विश्वासको मत लिन नपाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नो पक्षमा बहुमत प्रदेशसभा सदस्यको मत नपर्ने देखेपछि उनले पदबाटै राजीनामा घोषणा गरेका हुन् ।

मधेसका चौथो मुख्यमन्त्री सोनल जस्तै पाँचौँ मुख्यमन्त्रीमा नाम लेखाएका यादवले पदबाट राजीनामा दिने तयारी गरेका हुन् । सर्वोच्चको आदेशसँगै विश्वासको मत लिने तयारी गरेका उनले आफ्नो पक्षमा विश्वासको मत नपाउने भएपछि पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

पाँचौँ मुख्यमन्त्री बनेको एक महिना पूरा नहुँदै यादवले पदबाटै राजीनामा दिने तयारी गरेका हुन् । होटलमा पुगेर सपथ लिएका उनी जसरी पदमा पुगे उसैगरी छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

सम्बन्धित समाचार