नेकपासँग राजेन्द्र श्रेष्ठ नेतृत्वको पार्टीले बिहीबार एकता गर्ने

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीले आगामी मंसिर ११ गते बिहीबार एकता गर्ने भएको छ । आइतबार जसपा संघीय परिषद् अध्यक्ष श्रेष्ठले नेकपासँग एकता गर्ने विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
आगामी मंसिर ११ गते राष्ट्रिय सभा गृहमा एकता सभाको आयोजना गरिने श्रेष्ठ नेतृत्वको जसपा एक नेताले बताए । ‘नेकपासँग बिहीबार ११ बजे एकता गर्ने तयारी छ । राष्ट्रिय सभा गृहको हल नमिलेकाले समस्या भएको हो । यदी हल मिलेको भए बुधबार एकता गर्ने योजना थियो । अब बिहीबार एकता सभा हुन्छ’ ति नेताले भने । पार्टी एकता सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका बनाएको छ ।

श्रेष्ठ नेतृत्वको जसपाका नेताहरुलाई कुन कुन तह र कमिटी दिने भन्ने सवालमा समेत सहमती भए पनि बाहिर नखुलाएको ति नेताले बताए । संघीय परिषद् अध्यक्ष श्रेष्ठको नेतृत्वमा छ जना नेताहरु आउने भएका छन् । अरु केन्द्रीय समिति, प्रदेश, जिल्ला र स्थानीयतहमा श्रेष्ठको पक्षमा बहुमत रहेको नेताहरुले बताएका छन् । जेनजी आन्दोलनपछि नयाँ अवस्थामा राजनीति आएकाले धु्रवीकरणमा जान एकता गर्न लागेको श्रेष्ठले बताएका छन् ।
तीन पार्टी एउटै चुनाव चिन्ह
उता जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले एउटै चुनाव चिन्हमा लड्ने निर्णय गरेका छन् । आइतबार राती तीन नेताले हस्ताक्षर गरेर जाँतो चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएका हुन् । निर्वाचनपछि तीन पार्टीले एकता गर्ने नेताहरुले बताएका छन् ।


बास्तोलासँग एकता गर्न छलफल
नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले नेकपा बहुमतका महासचिव धमेन्द्र बास्तोला लगायत अरु फुटेर गएका माओवादी घटकसँग एकता गर्न छलफल अघि बढाएका छन् । कम्युनिस्ट आन्दोलनलाई धुर्वीकरण गर्न एमाले बाहेक अरु कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी राखेको नेकपा नेता हरिबोल गजुरेलले बताए । नेकपा बहुमतका नेतासँग पार्टी एकताका विषयमा छलफल भए पनि ठोस निर्णय भई नसकेको गजुरेलले बताए ।

सम्बन्धित समाचार