ओलाङचुङगोला जाने सडक मर्मत

0 Shares

ताप्लेजुङ । अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुई वटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोला पुगेका छन् । फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

हाल उक्त सडक मर्मतपछि सुकेपानीदेखि ओलाङचुङगोला-टिप्ताला सडक खण्ड फेरि सञ्चालनमा आएको उहाँले जानकारी दिए ।

सडक खुलेसँगै स्थानीय बासिन्दाले मोटरसाइकलसहितका साना सवारीसाधन चलाउन थालेका छन् । तर, सुकेपानी र जोङिगन क्षेत्र हुँदै बग्ने तमोर नदीमा पानीको बहाव अझै उच्च रहेकाले सवारी साधन तार्न कठिनाइ रहेको स्थानीयले बताएका छन् ।

एक दुई हप्ताभित्र तमोरको पानीको बहाव घट्ने अनुमान गरिएको छ । त्यसपछि ह्युम पाइप राखेर साना सवारी सहज रुपमा आवतजावत गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको वडाध्यक्ष शेर्पाले बताए ।

सम्बन्धित समाचार