काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार ६९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार १५९ मेट्रिकटन उत्पादन भएको छ । हाल २९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्यांक छ ।
यसमा २५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए । यस वर्ष उत्पादन दिने बिरुवाको संख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ ।
जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए । उनले भने, “सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ, खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ, गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।”
जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए ।
देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ ।
“जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ, अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ, यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ, त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,” उनले भने ।
ज्ञान केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक हजार ६९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार १५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ ।