काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे ।
“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो, संवाद गर्न सरकार तयार छ, सडकमा जानु जरुरी छैन,” गृहमन्त्री अर्यालले भने ।
लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।
“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन, कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन, विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो,” गृहमन्त्रीले भने ।
बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई समान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।