काठमाडौं । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडक खण्डमा वर्षाको पानी जमेको पोखरीमा डुबेर तीन जना किशोरीको मृत्यु भएको छ।
राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ जाँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा मृत फेला परेका हुन्।
बाढीको पानी जमेको खाल्डोमा परी उनीहरू बेपत्ता भएका थिए। बेपत्ताको खोजि गर्ने क्रममा सोमबार सशस्त्र प्रहरीले शव फेला पारेको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरूको सहयोगमा उनीहरूको शव खाल्डोबाट बाहिर निकालेको छ।
उनीहरूसँगै घाँस काट्न गएका सोही ठाउँका १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाहरूले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।