टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्तिको शव फेला

0 Shares

काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका २ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार छ दिनपछि उनको गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको हो । गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए ।

उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार नेपाली सेनाका लप्टन नीरज राईको कमाण्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ ।

खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका १ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका ५ नकटुवा हुँदै फेटा गाउँपालिका २ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

सम्बन्धित समाचार