काठमाडौं । दसैं सकिएसँगै पछिल्ला दिनमा काठमाडौं उपत्यका भित्रिने सवारी साधन र यात्रुको संख्या दैनिक बढ्दै गएको छ ।
दसैं मनाउन गाउँघर गएका नागरिक अहिले पुनः काठमाडौं उपत्यका फर्किन थालेपछि यहाँका प्रमुख नाका र सडकमा यात्रु तथा सवारी साधनको संख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दसैंको भोलिपाल्ट अर्थात् यही असोज १७ गतेदेखि हिजो बुधबार साँझसम्म काठमाडौं उपत्यकामा एक लाख ५५ हजार ६९७ जना भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।
उनले भने, “दसैं सकिएको र बाढीपहिरो तथा वर्षात्ले अवरुद्ध राजमार्ग पनि सञ्चालन भएका छन्। राजमार्गमा सवारी साधनको संख्या पनि बाक्लिँदै गएको छ ।”
उनका अनुसार दसैंका लागि भन्दै काठमाडौं उपत्यकाबाट आठ लाख ६८ हजार ७२ जना बाहिरिएका छन् । हिजोआज काठमाडौं प्रवेश गर्ने नाका विशेषगरी नागढुङ्गा, फर्पिङ, साँगाचोक, बलम्बु, जगातिलगायत स्थानमा दैनिक हजारौँको संख्यामा यात्रु तथा सयौँको संख्यामा सवारी साधन उपत्यका भित्रिने र बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।
दसैं मनाएर फर्किनेमध्ये प्रायः रोजगारी, अध्ययन वा व्यापारका सिलसिलामा राजधानी फर्किने रहेका प्रहरीले जनाएको छ । दसैंको बिदापछि अहिले काठमाडौंको जनजीवन पुनः सक्रिय भएको छ । मन्त्राललय, कार्यालय, पसल तथा अन्य संघसंस्था क्रमशः सञ्चालनमा आएका छन् ।