राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सनाले झण्डै २ वर्षसम्म सरकारी गाडि फिर्ता गरेनन्

0 Shares

काठमाडौं । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अध्यक्षमा बहाल हुँदा चढेको गाडी अझैसम्म फिर्ता नगरेको पाइएको छ ।
संसद् सचिवालयका अनुसार उनलाई सात महिना अगाडि गत चैतमा गाडी फिर्ता गर्न पत्र नै पठाइएको थियो । ‘पत्र गएपनि उहाँबाट कुनै रेसपोन्स भएन’ एक अधिकारीले भने । उनी नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष भएका थिए ।

अध्यक्ष तिमिल्सिनाको कार्यकाल २० फागुन २०८० मा सकिएको थियो । २०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सना सोही वर्ष राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । ६ वर्षे कार्यकाल सकाएर २०८० फागुन २० गते बिदा भएका हुन् ।

संसद् सचिवालयका अनुसार तिमिल्सनाले अध्यक्ष हुँदा बीआईडी एटो थ्री गाडी चढ्दथे । अध्यक्ष हुँदा लिएको गाडी उनले अझैसम्म छोडेका छैनन् । ‘राष्ट्रिय सभाका पूर्व अध्यक्षलाई गाडी सुविधा दिने प्रावधान छैन भनेर पत्र लेख्दा समेत फिर्ता हुन सकेन,’ संसद् सचिवालयका एक अधिकारीले भने । उनका अनुसार अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

यसअन्तर्गत संघीय संसद् सचिवालयले पूर्व राजनीतिक पदाधिकारीले लिँदै आएको गाडी सुविधा फिर्ता गराउने विषयमा समेत छलफल सुरु गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ‘पूर्वसभामुखलाई मन्त्रिपरिषद्को निर्णय बमोजिम सवारी साधन लगायतका सुविधा उपलब्ध गराउने गरिएको हो ।’ ‘राष्ट्रिय सभाको अध्यक्षको हकमा मन्त्रिपरिषद्बाट त्यस्तो निर्णय भएको संसद् सचिवालयको जानकारीमा छैन’ गिरीले भने ।

गिरीका अनुसार प्रशासनिकतर्फ भने संसद् सचिवालयका पूर्वपदाधिकारीलाई कुनै खालको सेवासुविधा दिने गरिएको छैन ।

सम्बन्धित समाचार