रास्वपा पार्टी कार्यालय तीन महिनामा खाली गर्न घरबेटीको आग्रह

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वनस्थलीस्थित चःमती–१६ मा रहेको केन्द्रीय कार्यालय खाली गर्न घरधनी भरतमणि देवकोटाले नेताहरूलाई आग्रह गरेका छन् । दुई साताअघि रास्वपाका कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याललाई भेटेर तीन महिनाभित्र घर खालि गर्न आग्रह गरेको देवकोटाले स्वीकार गरेका छन् । अहिले अमेरिकामा रहेका उनले घर भाडाको विषय आफ्नो आन्तरिक कुरा भएको बताए ।

‘घरभाडाको विषय हाम्रो आन्तरिक विषय हो । मैले सुरक्षा चुनौतीका कारण तीन महिनाभित्र घर खाली गरिदिनु भनेर कार्यवाहक अध्यक्ष डीपी अर्याललाई भेटेर भनेको हुँ’, उनले भने, ‘उहाँहरूले सुरक्षा दिएका छौँ भन्नुभएको छ । देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत त सुरक्षा दिन नसक्नेले मेरो घर सुरक्षा गरिदिन्छन् भनेर कसरी विश्वास गरौँ ।’

जेनजी आन्दोलनको क्रममा नेता र राजनीतिक दलको पार्टी कार्यालय निशानामा परेपछि देवकोटा राजनीतिक दललाई घर भाडामा नदिने निर्णयमा पुगेका हुन् ।

रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत रहेका देवकोटाले २०७९ सालमा महिनाको तीन लाख दिनेगरी घर भाडामा दिएका थिए । घर भाडा नतिरेको विषयमा रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले केही महिनाको बाँकी नै रहेपनि कति छ भन्ने विषयमा केही थाहा नभएको जिकिर गरिन् ।

‘मिडियामा आएपनि मैले पनि सोधेको थिएँ । केही महिनाको भाडा बाँकी छ भनिएको छ । तर कति महिनाको बाँकी छ भन्नेबारे थाहा भएन’, उनले भनिन् ।

सम्बन्धित समाचार