काठमाडौं । जुनसुकै आन्दोलन वा विद्रोहमा पनि शैक्षिक संस्थाहरूलाई ‘शान्ति क्षेत्र’ को व्यवहार गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहँदै आएको छ । त्यसको विपरीत गत भदौ २४ गते जेनजीका नाममा भएको आन्दोलनमा केही शैक्षिक संस्थाहरूमा पनि आक्रमण भयो । त्यसमध्ये सबैभन्दा ठूलो विध्वंस युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित विद्यालय र कलेजमा गरिएको छ ।
युलेस फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । यस्तै बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ ।’
आन्दोलनबाट विद्यालयमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । युलेन्समा १ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत थिए । विध्वंसका कारण विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् भने शिक्षक कर्मचारीहरूको रोजगारी संकटमा परेको छ ।
आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए । फाउन्डेसनले विज्ञप्तिमा भनेको छ, ‘यो आगोबाट बीभत्स रूपमा खरानी बनाइएको युलेन्सको विस्तारित समुदायको संवेग, अनुभव र जीवन कसरी बौराउने भन्ने संगीन र कारुणिक मोडमा हामी उभिएका छौँ ।’
युलेन्समाथि आक्रमणको प्रमुख कारण हो, तत्कालीन परराष्ट्रमन्त्री डा। आरजु राणाको नाम जोडिनु । आरजु यस विद्यालयको व्यवस्थापन समिति अध्यक्ष हुन् । फाउन्डेसनले भने आरजुको विद्यालयमा कुनै पनि लगानी नरहेको र सार्वजनिक भएको हिसाबले मानार्थरुपमा अध्यक्ष पद दिइएको स्पष्ट पारेको छ ।