सिरहा । जिल्लाको गोलबजार नगरपालिका १३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । आइतबार राति अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँपको बगैचामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् । परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् ।
सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो ।
अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी परिवारजनले प्रहरीलाई सोमबार दिएका थिए ।
हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरीले जनाएको छ ।