काठमाडौं । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।
तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुन: चार जनाको नामसूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो।
‘हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीको नाम मात्र पठाइएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘मिश्रको नाम हटाइएको छ।’
आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ।
‘अहिलेलाई स्वास्थ्यमन्त्री पद खाली नै राखिएको छ’, स्रोतको भनाइ छ।
मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्।
उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।