काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगर ३० लाई कार्यालय संचालन गर्नका लागि टेबल कुर्सीसहित कम्युटर हस्तान्तरण गरेको छ ।
जेनजी गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पूर्ण उपकरण तथा फर्निचर जलेर नष्ट भएको थियो । कामना सेवा विकास बंैकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई उक्त फर्निचर हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले आन्दोलनका क्रममा क्षति पुगेका संरचनामा सहयोग गरी कार्यालय सञ्चालन गर्न सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै अन्य सरोकारवालालाई पनि पुनः निर्माणमा जुट्न आह्वान गरे ।
बैंकले आन्दोलनका क्रममा कार्यालयका उपकरणसहित सम्पूर्ण भौतिक संरचना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
कार्यालय पूर्ण रुपमा जलेर नष्ट भई कार्यालय सञ्चालन असम्भव हुने अवस्थामा रहेकोमा तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरि बहादुर बस्नेतलाई हस्तान्तरण गरे ।
बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालय पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामाग्री हस्तान्तरण गर्न थालेको छ ।