काठमाडौँ। काठमाडौँमा जारी ‘नाडा अटो शो २०२५’ मा विभिन्न कम्पनीहरूले आकर्षक अफरसहित नयाँ ब्रान्डका कारहरू सार्वजनिक गरेका छन्। यस वर्षको अटो शोमा उड्ने कारले धेरैको ध्यान खिचे पनि नयाँ गाडीहरूले पनि उत्तिकै आकर्षण बटुलेका छन्।
डोङफेङ र सुजुकीका नयाँ मोडल
डोङफेङ नामीले आफ्नो नयाँ कार नामी भिगो (नामी ०६) सार्वजनिक गरेको छ, जसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अटो शोमा बुकिङ गर्ने ग्राहकका लागि भने कम्पनीले १ लाख रुपैयाँ छुट दिएको छ। यो गाडीको रेन्ज ३५० किलोमिटर रहेको दाबी गरिएको छ।
यस्तै, सीजी होल्डिङ्सले सुजुकीको ई–भिटारा गाडी प्रदर्शनीमा राखेको छ। जापानी ब्रान्डको यो ईभी कारलाई कम्पनीले अधिकतम ५०० किलोमिटर रेन्जसहित बजारमा ल्याउने तयारी गरेको छ।
चिनियाँ ब्रान्डका नयाँ कार
एलआरआर मोटर्सले चिनियाँ ब्रान्डका जेवाई एयर र जिली ई–एक्स कारहरू सार्वजनिक गरेको छ। यी दुई मोडलका लागि बुकिङमा छुट सुविधा दिइएको छ। जिली ई–एक्स ५ को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। जेवाई एयरको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ। जिली ई–एक्स प्रोले ४३० किलोमिटर र ई–एक्स म्याक्सले ४२५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
टाटा, बीवाईडी र एक्सपेङका नयाँ गाडी
सिप्रदी ट्रेडिङले टाटा सफारी कारका तीन भेरियन्ट सार्वजनिक गरेको छ। यस्तै, सीजी मोटर्सले एक्सपेङ एक्स–९ कार सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य २ करोड २० लाख रुपैयाँ तोकिएको छ। यो लक्जरी कारले ४८० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो–टु कार ल्याएको छ। यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यसले ३४५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ।
सस्तो मूल्यका मिनीकार
यसपटक अटो शोमा लुमिन ईभी र जेनपेङ जस्ता कम मूल्यका कार पनि सार्वजनिक भएका छन्। एमएडब्लूले सार्वजनिक गरेको लुमिन ईभीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ छ र यसले ३०१ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ। व्यस्त सहरी क्षेत्रका लागि उपयुक्त मानिएको यो मिनीकार लोकप्रिय हुने अनुमान गरिएको छ।
त्यस्तै, ठाकुर मोटर्सले जेनपेङ ब्रान्डका कारहरू १८ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्यमा सार्वजनिक गरेको छ।