काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२५ मा इतिहासमै पहिलोपटक ‘उड्ने कार’ डीपल ‘ईभीटोल’ प्रदर्शनमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियासँगै संयुक्त रूपमा उक्त कारको औपचारिक उद्घाटन गरे ।
एमएडब्लु वृद्धि ग्रुपले नेपालमा विश्वस्तरीय गाडीहरू भित्र्याउँदै आएको छ । नाडा अटो शोमा उड्ने कार प्रदर्शन गर्नुले नेपालको भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने कम्पनीको दृष्टिकोणलाई थप स्पष्ट पारेको छ ।
उद्घाटनका क्रममा अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो ।” प्रबन्ध निर्देशक सिकरियाले भने, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ ।”
डीपल ईभीटोल के हो ?
डीपल ईभीटोल एउटा साधारण गाडी मात्र नभएर फ्लाइङ कार बनाउनका लागि चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर तयार पारेको नयाँ र आधुनिक प्रविधि हो।
चांगान अटोमोबाइल चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्मातामध्ये एक हो र डीपल यसको नयाँ इनर्जी सब-ब्रान्ड हो । EHang विश्वकै अग्रणी अटोनोमस हवाई सवारी निर्माता हो, जसले व्यावसायिक रूपमा पाइलटविहीन यात्रु बोक्ने ईभीटोल उपलब्ध गराएको थियो ।
यी दुई कम्पनीको लक्ष्य भनेको हवाई यातायातलाई विलासिताको वस्तु मात्र नबनाई यसलाई सुरक्षित, वातावरणमैत्री र सहज बनाउँदै सबैका लागि पहुँचयोग्य बनाउनु हो ।
यो गाडी सिधै माथि उड्न र भुइँमा फर्किएर अवतरण गर्न सक्षम छ । यसमा अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधि र हवाई इन्जिनियरिङको संयोजन गरिएको छ । यसले सडकको भीड कम गर्न, ध्वनि प्रदूषण घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपालका लागि फ्लाइङ कारको यो प्रदर्शनीले देशलाई भविष्यको दिगो यातायातको तयारी गरिरहेका मुलुकहरूको लहरमा समावेश गरेको छ । यो प्रस्तुति नाडा २०२५ को सुरुवात मात्र नभई नेपालको अटोमोबाइल इतिहासमा एक महत्त्वपूर्ण क्षणको रूपमा दर्ज भएको छ ।