साढे १२ अर्ब अमेरिकी डलर ठगी मुद्दामा महिलालाई मृत्युदण्ड

0 Shares

काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनी रूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्ममार्फत रकम लुटेर सरकारी अधिकारीलाई घुस खुवाएको आरोप छ ।

अभियोजकले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् ।

ल्यानले आफूमाथि लगाइएको आरोपको खण्डन गरेकी थिइन् । अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन् ।

सरकारी सञ्चार माध्यमका अनुसार उनले भनिन्, “मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।”

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमको उल्लंघन गरेको दोषी पाइएको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचार विरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ ।

सम्बन्धित समाचार