काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताए ।
स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरे ।
प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवं निष्ठावान् व्यक्तित्व गुरुङको आज बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ ।
गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११ः१५ बजे उनको निवास भरतपुर महानगर २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।