काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा सरकारले टालटुले समिति बनाएर झारा टार्न खोजेको बताएको छ।
शुक्रबार प्रतिनिधि सभा बैठक बहिस्कार गर्नुअघि बोल्दै रास्वपा सांसद विनिता कठायतले उक्त समिति टालटुले र झारा टार्नका लागि मात्रै बनाएको बताएकी हुन्।
‘यति लामो समयदेखि संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासिन छ । मुद्दाको गम्भीर्यतालाई नजरअन्दाज गर्दै यसलाई डिसमिस पार्नको लागि एउटा टालटुले समिति बनाएर झारा टार्न खोजिँदै छ,’ उनले भनिन्।
रास्वपाले उक्त समितिलाई अस्वीकार गर्दै न्यायिक आयोग वा संसदीय समिति नै माग गरेको उनले बताइन्। सांसद कठायतले यस विषयमा मित्र राष्ट्रहरूको पनि चासो बढेको बताइन्।
‘यस अन्तर्राष्ट्रिय अपराधमा अब संयुक्त राष्ट्र संघ मात्र होइन मित्र राष्ट्रको पनि चासो बढेको छ । छिमेकी भारतका मिडियामा समेत यो विषले प्रवेश पाएको छ,’ उनले भनिन्।
उनले दुई वर्ष कुलिङ पिरियडको प्रावधान एमालेले नमान्नुको कारणबारे पनि प्रश्न गरेकी थिइन्।