तराईमा खानेपानीको हाहाकार, ट्यांकरबाट वितरण हुने पानी लिन घुइँचो

0 Shares

काठमाडौं । मधेस प्रदेशमा खानेपानीको हाहाकार भएसँगै ट्यांकरमार्फत पानी वितरण गरिएको छ। जसमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिकामा खानेपानी वितरणका लागि ट्यांकरबाट पानी लगिएको छ ।

खानेपानी अभावलाई समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाही मलङ्गवा नगरपालिका र सम्बन्धित वडा कार्यालयको समन्वयमा ट्याङ्करमार्फत पानी वितरण सुरु गरिएको हो ।

यसबाहेक अन्य स्थानमा पनि ट्यांकरमार्फत खानेपानी वितरण गरिएको छ । बर्खायाममा समेत वर्षा हुन नसक्दा सरकारले मधेस प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले मधेसलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिए ।

यसअघि सरकारले मधेसका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव भएको निष्कर्ष निकालेको थियो ।

वर्षा नहुँदा मधेस प्रदेशमा खानेपानीको अभाव हुनुको साथै धान रोप्न नपाउँदा किसान चिन्तित बनेका छन् ।

सम्बन्धित समाचार