विराटनगर । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिएपछि नदी थुनिएको छ। यसका कारण करिब एक किलोमिटर लामो ताल बनेको छ ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो । पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतका अनुसार सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एक स्पानको अधिकांश भाग पुरिएको छ, जसले गर्दा दूधकोसी नदीको बहाव अवरुद्ध भएको हो ।
उनका अनुसार केही दिनअघि नै पुलको आधा भाग बाढीले पुरिसकेको थियो भने गएराति पुनः आएको बाढीले पुल थप क्षतिग्रस्त बनाएको छ। पुलका पिलरहरू समेत प्रभावित भएका छन् ।
प्रशासनद्वारा सतर्कताको आग्रह, स्थानीयद्वारा थप अनुगमनको माग
यता, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बाढीका कारण दूधकोसी थुनिएको भए पनि स्थानीय तहको सहयोगमा पानीको बहाव खुलाइएको र अहिले अवस्था सामान्य रहेको बताएका छन्। उनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।
वडा नम्बर २ का वडाध्यक्ष युजन बस्नेतले दूधकोसी नदीमा एक किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जमेको पुष्टि गरेका छन् । उनका अनुसार असार २६ गते परेको अविरल वर्षापछि सिखु खोलाबाट आएको गेग्र्यानसहितको बाढीले नदी किनारमा रहेको ठूल्ठूला ढुङ्गासहितको बालुवा थुपारेर नदीको बहाव अवरुद्ध बनाएको हो। सुरुमा २००–३०० मिटर क्षेत्रफलमा मात्रै पानी जमेको भए पनि पछिल्ला दिनमा पानीको सतह बढ्दै जाँदा अहिले एक किलोमिटर लामो क्षेत्रमा पानी जमेको अध्यक्ष बस्नेतले बताए ।
‘बाढीले नदी किनारको खेतबारीमा भने केही क्षति पुर्याएको छ,’ उनले भने, ञयद्यपि बस्ती नजिक नभएकोले तत्काल ठूलो मानवीय क्षतिको सम्भावना भने छैन । सोही क्षेत्रमा अवस्थित ८६ मेगावाटको जलविद्युत् आयोजनाको पावर हाउस समेत जोखिममा रहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी फिल्डमा नआएको र प्रारम्भिक सूचनाका आधारमा समस्या नरहेको बताए पनि स्थानीयले भने स्थिति स्थलगत अवलोकन गरी जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरेका छन् ।
थप जोखिम कायमै, पुलको पुनर्निर्माण चुनौतीपूर्ण
स्थानीयका अनुसार नदी ताल जस्तो अवस्थामा देखिएको छ र पुल पुरिएर नदी बाँधझैँ बनेको छ । वडा नम्बर ४ तर्फ पहिरो खसेको क्षेत्रबाट दूधकोसी पूर्ण रूपमा थुनिन सक्ने खतरा अझै कायमै रहेको बस्नेतले बताए। घटनाबारे सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको पनि उनले बताए ।
‘पुल पुरिएर पानीको सतहमाथि उठेको छ, पानी पुलमाथिबाटै बगिरहेको छ । रातिको समयमा त नदी पूर्ण रूपमा थुनिएको अवस्था थियो,’ उनले भने, ‘पुलको पिलरहरू बाङ्गिएर अब पुनर्निर्माणसमेत चुनौतीपूर्ण देखिन्छ । ’
प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०७६ सालदेखि निर्माण सुरु भएको पुल बजेट अभावका कारण लामो समयदेखि अधुरै अवस्थामा थियो ।