काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका विषयमा विपक्ष दलले संसद र सार्वजनिक मञ्चबाट तिबृ आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायत दलले मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बर्खास्त नगर्नु दुखद भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओली भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने आफ्नै नारालाई दुहाई दिएर मन्त्री गुप्तालाई बचाएर राखेका छन् । माओवादी केन्द्रका सांसद राजन दाहालले प्रधानमन्त्री ओली सहित सिङ्गो मन्त्रीपरिषद् नै बदनाम भई सकेकाले आफै कुहिँएर झर्ने टिप्पणी गरे । ‘प्रधानमन्त्री स्पेन जानुभयो । सेटिङमा पैसा खाएर मान्छे उतै छोडेर आउनुभयो । मन्त्रीको खुलेआम ७८ लाख घुसको अडियो सार्वजनिक भएको आइ राखेका छन् । त्यति मात्रै होइन भूमि मन्त्री समेत जोडिएका छन्’ सांसद दाहालले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचारीलाई देख्दै सक्दिन भन्नुहुन्छ भन्दा खुलमखुल्ला घुसको बार्गेनिङ अडियो आउँदासम्म मन्त्रीलाई हटाउनुहुन्न । उहाँ चुपचाप बस्नु हुन्छ ।’ मन्त्री गुप्तालाई मन्त्रीबाट हटाएर कारबाहीको दायरामा ल्याउनुपर्ने दाहालको भनाई छ । यदी भ्रष्ट मन्त्रीलाई हटाएर कारबाहीको दायरामा नल्याए संसद हुँदै सडसकसम्म भ्रष्टाचार अनियमितताको मुद्धा लिएर जाने उनले चेतावनी दिए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बर्खास्त नगर्नु संसदीय अभ्यासकै लज्जाको विषय भएको टिप्पणी गरे । आफूलाई भ्रष्टाचार विरोधि सुशासन हिमायती ठान्ने प्रधानमन्त्रीले घुसको बार्गेनिङ हुँदासम्म कारबाही नगर्नु दुखद् भएको उनले बताए । ‘हामीले संसदमा भ्रष्टाचार र अनियमितताको विषयमा निरन्तर उठाइ राखेका छौँ । पछिल्लो समय संसदीय अभ्यासलाई बदनाम गर्ने गरी मन्त्री गुप्ताको अडियो आएको छ । मन्त्री गुप्तालाई प्रधानमन्त्रीले तुरुन्त एक्सन लिएर जिम्मेवारीबाट हटाएर कारबाहीको दायरामा ल्याउनुपर्छ’ उनले भने, ‘यदी सरकारले भ्रष्टाचारीलाई जोगाउने नीति ल्याए संसद र सडक सबै मोर्चाबाट विरोध गर्न बाध्य हुने छौँ ।’
भ्रष्ट मन्त्रीका बारेमा मन्त्रीपरिषद् छलफलै भएन
सामान्य प्रशासन मन्त्री गुप्ताको विषयमा मन्त्रीपरिषद्मै छलफलै भएन । सोमबार राती राखिएको मन्त्रीपरिषद् बैठकमा मन्त्री गुप्ताको विषयमा कुनै कुरा नभएको एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई सकेसम्म जिम्मेवारीबाट हटाउने धेरैले आकलन गरेका थिए । त्यसो हुन नसकेमा कम्तीमा स्पष्टीकरण सोध्ने धेरै अनुमान थियो । तर, मन्त्रीपरिषद् बैठकमा मन्त्री गुप्ता निर्धक्क सहभागी भएर निस्किएका छन् । प्रधानमन्त्री देखे नदेखे जस्तो गरेर बैठक सकाएर हिडेका थिए ।