दाङमा दुर्घटनामा परी चार जनाको मृत्यु

0 Shares

काठमाडौं । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।

बबई गाउँपालिका ४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगर २ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यसैगरी, मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर-घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका ८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगर ४ सिस्नेखोलामा बेलुका ७ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार