काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक एवं वरिष्ठ नेता बालाराम घर्ती मगरको शुक्रबार निधन भएको छ। ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय घर्तीमगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। रोल्पाका घर्तीमगर पटकपटक मन्त्री भएका थिए।
घर्तीमगरले पूर्व प्रधानमन्त्रीहरू तुल्सी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह र शेरबहादुर देउवाको कार्यकालमा मन्त्री बनेका थिए। साथै उनी प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्य पनि भएका थिए।
उनको जन्म १९९४ साउन १८ तत्कालीन प्युठान जिल्ला बाइसखुवाथुम अन्तर्गत मिझिङ मौजाको उपल्लोथर हालको रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिकामा भएको थियो।
राप्रपा स्थापना हुँदा घर्तीमगर सूर्यबहादुर थापा निकट थिए। २०४७ सालमा थापा, छिरिङ तेन्जिङ लामा, बुद्धिमान तामाङ, कृष्ण श्रेष्ठ, बालाराम घर्तीमगरलगायतले राप्रपा पार्टी गठन गरेका थिए। त्यो राप्रपा भिन्नभिन्नै समूहमा बाँँडिँदै अहिले राप्रपा र राप्रपा नेपाल अस्तित्वमा छन्।